सहकारी पीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न सांसद गौतमको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारी पीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी छिन् । सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उनको भनाइ छ । ‘आजभोलि सहकारीपीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताए । फुटपाथमा व्यवसाय गर्ने उहाँले सहकारीमा जम्मा गरेको रकम डुबेछ’, उनले भनिन, ‘ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताए । उनी प्रतिनिधि पात्र मात्रै हुन् ।’

सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै सांसद गौतमले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको उल्लेख गरेकी छिन् । लाखौ व्यक्तिले दु:ख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारीपीडितको पीडा देख्न नसकेको उल्लेख गरिन् । सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्कारुपमा लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएकी छिन् । उनले सहकारीपीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उनको भनाइ छ ।

सांसद गौतमले सहकारीपीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको जानकारी दिएकी छिन् । जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्