२७ लाख बढि रकमसहित हुण्डी कारोबार गर्ने २ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको रु २७ लाख ७५ हजार ९ सय ७० सहित रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

सोमबार गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका-३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका-७, घरभई मलङ्गवा नगरपालिका-९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् । प्रहरीका अनुसार मलङ्गवा नगरपालिका-९ बाट रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु ९ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै, राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार ९ सय ७० बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा रु १ हजार दरका १ हजार ४ सय ५४ थान, रु ५ सय दरका ६ सय २२ थान, रु १ सय दरका १ सय ९ थान, रु ५० को १ थान र रु २० को एक थान नेपाली नोट बरामद गरेको हो ।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिएका छन् । जिल्ला प्रहरीको हिरासतमा राखेर दुवैको अनुसन्धान भइरहेको छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्