लागत घटाउन किसानलाई कृषि औजार वितरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो ।

गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिएका छन् । कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपकरण सहयोग गरिएको उनले बताएका हुन् । गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमबीच गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले किसानलाई औजार र उपकरण वितरण गरेका छन् ।

यस्तै, कृषिलाई आधुनिकीकरण गर्दै किसानको लागत घटाउन कृृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले रैथाने बाली प्रर्वद्धन कार्यक्रमअन्तर्गत किसानसँगको लागत सझेदारीमा रु ६ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकाले यसअघि ७५ प्रतिशत लागत साझेदारीमा गाउँपालिकाको रु ४ लाख ५० हजार र साझेदारीमा किसानबाट रु एक लाख गरी कूल रु पाँच लाख ५० हजारको बजेटबाट मागअनुरुप कृषि यान्त्रीकरण सामग्री वितरण गरेको थियो ।

सो कार्यक्रममा पाँच मिनिटेलर, पाँच फलफूलको हाँगा काँटछाँट गर्ने सिकेचर, पाँच आरी, नौ भर्याङ र दुई तौल मेसिन वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिएका छन् । कृषि उपकरणले उत्पादन लागत घटेर उत्पादकत्व बढ्ने तथा स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उनले बताएका छन् । चालू आर्थिक वर्षमा पालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि करिब रु डेढ करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । परम्परागत रुपमा गोरुले खेतबारी जोत्नुपर्दा झन्झट हुने र लागत बढी लाग्ने गरेको सन्दर्भमा कृषि औजार उपकरणले राहत मिलेको अन्नपूर्ण-८ काफलडाँडाका सुकबहादुर चोचाङ्गीले जानकारी दिएका छन् ।

उनले भने, ‘गाउँमा गोरु पाल्ने चलन हराएर जान थालेको छ, गोरुले खेतबारी जोत्दा खर्च पनि बढी लाग्ने, मिनिटेलरले छोटो अवधिमै धेरै जोत्न सकिन्छ । काम गर्ने मान्छे पाउन मुस्किल पर्ने गरेको समयमा यसले किसानलाई राहत दिने आशा गरेका छौँ ।’ पछिल्लो समय जिल्लामा कृषि पेसामा आधुनिकीकरण बढेको छ । कृषि औजार र उपकरणका कारण खेतीमा लागत घटेर किसानलाई लाभ हुन थालेको छ । कृषिमा मेसिन उपकरणको प्रयोग बढ्न थालेपछि स्थानीय तहले कृषिजन्य मेसिन उपकरणको मर्मतसम्भार तालिम सञ्चालन गर्न थालेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्