प्रधानमन्त्री भन्छन:-‘स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । उनले ८औँ स्वास्थ्य बीमा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तनीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले भने, ‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरु चुनौतीलक्षित सुधारका योजनाहरू हुन् । स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधैँ प्रतिबद्ध छ ।’

कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्वपूर्ण कार्यभारलाई पूरा गर्नुपर्नेमा जोड दिँदै उनले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान निर्देशन दिएका छन् । उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमको मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको जानकारी दिएका छन् ।

बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहालले बुढानिलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गरेका छन् । आइतबारदेखि सो कार्यक्रम ७ सय ५३ वटै स्थानीय तहमा सुरु भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्