बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा अधुरै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।

बडिगाड गाउँपालिका-३ मा चरम खानेपानीको अभाव भएपछि आर्थिक वर्ष २०६७-६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । उक्त आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । रु २ करोड ८५ लाख २९ हजारमा काम सक्ने गरी सुरु भएको आयोजना १२ वर्षसम्म पनि ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताएका छन् ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख मात्रै विनियोजन गरेको भन्दै आयोजना सम्पन्न गर्न अझै रु एक करोड चार लाख ७० हजार आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार यो योजनाका लागि हालसम्म रु १ करोड ८० लाख ५६ हजार खर्च भएको छ । ढोरपाटन नगरपालिका २ र ३ मा आर्थिक वर्ष २०७४-७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आवमा सरकारले रु १५ लाख विनियोजन गरेको थियो ।

यस्तै, पाँच करोड ३४ लाख ५२ हजार लागतमा निर्माण हुन लागेको उक्त आयोजना सम्पन्न गर्न अझै रु ३ करोड आवश्यक पर्ने खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलले उल्लेख गरेका छन् । हालसम्म यो आयोजानामा रु ८५ लाख ७९ हजार खर्च भएको उनको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष २०७५-७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । रु ३ करोड १४ लाख १ हजार लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । उनका अनुसार आयोजना सम्पन्न गर्नका लागि अझै रु तीन करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । आव २०७६-७७ मा जिल्लाको बडिगाड गाउँपालिकामा भिरकटेरा खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो । रु २ करोड ९९ लाख ७९ हजार लागतमा निर्माण सुरु भएको आयोजनको हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि रु १० लाख बजेट विनियोजन भएको जनाउँदै आयोजना सम्पन्न गर्न थप रु एक करोड ४० लाख आवश्यक पर्ने प्रमुख पौडेलको भनाइ छ । उनका अनुसार यस आयोजनामा हालसम्म रु ३ करोड १४ लाख एक हजार खर्च भइसकेको छ । बडिगाड गाउँपालिका ४, ५ र ८ मा आर्थिक वर्ष २०७६-७७ मा नेटाखर्क जलजला बृहत् खानेपानी आयोजना सुरु भएको थियो । ६  करोड ९  लाख ९० हजार लागत निर्माण हुन थालेको यस आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ ।

त्यस्तै, चालु आर्थि वर्षमा प्रदेश सरकारबाट रु १० लाख विनियोजन भएको भन्दै आयोजना सकिन अझै रु ३ करोड ७९ लाख ९४ हजार लाग्ने प्रमुख पौडेलले जानकारी दिएका छन् । यस आयोजानमा हालसम्म रु ६६ लाख २५ हजार मात्र खर्च भएको उनको भनाइ छ । ‘आयोजना निकै ठूलाठूला छन् तर बजेट थोरै आउँदा समयमै काम सम्पन्न गर्न समस्या भएको छ । करोडौँका आयोजना छन्, बजेट रु १०-१५ लाख मात्रै आउँछ, यसरी हेर्दा एउटा आयोजना सकिन वर्षौं लाग्ने देखिन्छ’, प्रमुख पौडेलले भने, ‘बजेट अभावका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौँ । आएको जति बजेटले धमाधम काम गरिरहेका छौँ ।’

ढोरपाटन नगरपालिका २ का विकास सुनारले आयोजना सुरु भएको सात वर्षसम्म जम्मा २५ प्रतिशत काम हुनु दु:खद भएको जानकारी दिएका छन् । हिउँदको समयमा बुर्तिबाङसहित आसपासका ठाउँहरुमा खानेपानीको चरम अभाव हुने भन्दै यसतर्फ सरोकार भएकाको ध्यान नजाँदा आयोजनाको कामले गति लिन नसकेको उनको गुनासो छ ।

हजारौँ नागरिक वर्षौंदेखि खानेपानीका लागि लाइन कुर्नुपर्ने बाध्यतामा रहेका भन्दै ती आयोजना सरकारको प्राथमिकतामा पर्न नसकेको सुनारको भनाइ छ । ‘कतै करोडौँका योजना पर्छन्, करोडौँ बजेट पनि पुग्छ, तर यहाँका हजारौँ जनता खानेपानीको समस्याबाट ग्रसित छन्, आयोजना सुरु पनि भएको वर्षौं बितिसक्दा पनि बजेट अभावले काम सम्पन्न भएका छैनन्’, उनले भने, ‘करोडौँका आयोजनामा जम्मा रु १५ लाख आउँछ, यसरी २०औँ वर्षसम्म पनि काम सकिँदैन, जनता सधैँ खानेपानीको समस्यामा हुन्छन् ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्