काठमाडौँ । अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी गरिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताए ।
प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागु गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमको उल्लंघन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरे ।
अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण र आमा–बाबासँग बिताउनु पर्ने उमेर भएको उनले स्पष्ट पारेका छन् ।
नोभेम्बरको अन्त्यमा संसद्मा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानुन पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ । यसको प्रभावकारी कार्यन्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् ।
फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै उमेर सीमालाई सम्मान गर्ने जनाएको छ । साथै, अस्ट्रेलियाले प्रतिबन्ध लागु गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताएका छन् ।
फ्रान्सले यसअघि नै सन् २०२३ मा कानुन पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तीमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो । रासस/एएफपी