काठमाडौ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब प्रदेश सरकारले नै छाप्ने भएका छन् । यातायात व्यवस्था विभागले प्रिन्ट गर्न नसक्दा हाल करिब २५ लाख सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स नपाउनेको संख्या हरेक दिन बढ्दै गएको छ ।
एउटा मात्र मेसिनबाट प्रिन्ट गर्दै आएको विभागसँग स्मार्ट लाइसेन्स छाप्नका निम्ति पछिल्लोपटक ल्याइएका १२ लाखमध्येका बाँकी कार्ड छन् । विदेश जानेलाई र आपत्कालीन लाइसेन्ससँगै हाल नियमित छपाइ पनि भइरहेको विभागले जनाएको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले लाइसेन्स छपाइको तयारी अघि बढाइएको जानकारी दिए । डिजिटल लाइसेन्सलाई यसअघि नै मान्यता दिइसकेको उनले उल्लेख गरे । अब प्रिन्ट गरेर भौतिक लाइसेन्स पनि उपलब्ध गराइने उनको भनाइ छ ।
बागमती प्रदेश सरकारले सवारी दर्ता पुस्तक (बिलबुक) पनि अनलाइनमै अभिलेख राख्ने कार्य गरिरहेको छ । प्रदेश सरकारले आउँदो असारसम्म सबै सवारीसाधनको दर्ता विवरण डिजिटलाइजेसन गर्ने लक्ष्य राखेको सचिव निरौलाले बताए । बिलबुकको विवरण पनि डिजिटलाइजेसन गरिसकेपछि लाइसेन्सजस्तै अनलाइनबाटै देखाउन सकिने उनले जानकारी दिए ।