काठमाडौँ । मोरङको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाका मुख्य आरोपी शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा हाजिर भएका छन् ।
रौनियार सहकारीको अध्यक्ष हुन् । सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार रहेका रौनियार सोमबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।
सोमबार उनको बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनका अनुसार रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान भइरहेको छ ।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना प्रतिवादी छन् ।
सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।