काठमाडौँ । नेपाली कांग्रेसले (आज) आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको हो ।
यस्तै ,शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पौष १२ गतेदेखि बसेको बैठकले राष्ट्रियसभामा उम्मेदवार छनोटमा मापदण्ड तय गरेको थियो । जसमा अवसरबाट वञ्चित र प्रतिष्ठितलाई समेट्ने तथा समावेशी प्रतिनिधित्व गराउने निर्णय भएको छ ।
बैठकले सरकारलाई काममा सुधार आवश्यक रहेको निष्कर्षसहित सुशासन र जनअपेक्षा अनुसार काम गर्न सुझाव दिएको छ । साथै, भ्रातृ संस्थाहरूको ६ महिना म्याद थप गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गराउने निर्देशनसमेत दिएको छ ।
महासमितिको बैठक फागुन ७ देखि १०सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२सम्म सञ्चालन गर्ने निर्णयसमेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।