नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९ औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।

उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए । उत्सवको सबै तयारी पूरा भएको छ ।

कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा नवीन पौडेल, डा टिबी क्षेत्री तथा नेपालका डा केशव चालिसे, डा अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ ।

सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ । सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताए ।

त्यसैगरी आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डीआर शर्मालाई विभिन्न विधामा पु¥याएको योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम छ । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनुहुनेछ भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताए । कार्यक्रमले दुई देशबीचको साहित्य प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

कवि एवं पर्यटन व्यवसायी सुमन घिमिरेले सौराहामा नेपाल र भारतका साहित्यकारको जमघटले साहित्यिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताए । होटल जङ्गल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेको संयोजनमा सौराहामा समय–समयमा साहित्यिक कार्यक्रम हुँदै आएको छ । उत्सव होटल जङ्गल सफारी लजमा हुने तय भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्