मधेशमा जाडो बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ ।

जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरुको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून छ । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीका सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिक रुपले कमजोर व्यक्तिहरु समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघा, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसानहरु पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन् । जिल्लामा जाडो बढेको करिब तीन साता हुन लाग्दा पनि स्थानीय पालिकाद्वारा हालसम्म जाडोबाट बचाउनका लागि सहयोग गरेका छैनन् ।

विभिन्न सङ्घसंस्था, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति, नेपाल रेडक्रस लगायतले आ–आफ्नो पूर्वतयारी थालेका थिए । गतवर्ष जाडो सुरु हुनासाथ प्रभावित गाउँबस्तीमा न्यानो बाँड्ने काम गरे पनि पनि यस वर्ष अहिलेसम्म कसैको कुनै पहल नदेखिएको जनगुनासो छ । गतवर्ष जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाडो याममा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न बस्तीमा दाउरा वितरण गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्