मतदानका लागि शीर्ष नेताहरु पुगे चितवनमा, प्रचण्डले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन गएका हुन् । प्रचण्ड बुधबार चितवन आएका हुन् । उनि गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उहाँलगायत एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् । यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए ।

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्