बैतडीमा खडेरीले रोपाइँ गर्न समस्या, पानीका मूल सुक्दै जाँदा बेर्ना बचाउन मुस्किल

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ । यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् ।

ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिए । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उनले भने “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।” गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ ।

बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उनले भने , “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उनले भने , “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।” यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ ।

कृषि प्रचार अधिकृत चन्दले भने , “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्