डुम्रे–बेँसीसहर सडक : दुई लेन बनाउने काम तीव्र रुपमा

Ad
  • कालोपाटी सम्बाददाता

लमजुङ । डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा पर्खाल उठाउनेलगायतका गरी हालसम्म ३५ प्रतिशत निर्माण सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्ने कार्य तीव्ररुपमा भइरहेको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५-१५ मिटरको हुने उक्त योजना कार्यालयका सूचना अधिकारीले बताए  । उनका अनुसार १०-१० मिटरको लगतकट्टा भइसकेको छ  भने, अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ ।

यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे भारवाहन सडक रहेकोमा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ । त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक-एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार ८ दशमलव तीन किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले अघिल्लो वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ ।  त्यस्तै, कालोपत्र सकिएपछि रोड फर्निचर पेन्टिङ गर्ने र किलोमिटर पोस्ट राखिने उक्त योजना कार्यालयले जनाएको छ ।

डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको रहेको छ । सडकका लागि भ्याट र पीएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुयाउन करिब साढे एक दशक लागेको थियो ।

विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयसमेत आवतजावत गर्ने गर्दछन् । यी सडक दुई लेन भइ कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यस सडक कालोपत्रे भएदेखि आवश्यकताअनुसार समय समयमा मर्मतसम्हार हुन नसक्दा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ । दुई लेनको सडक भएमा सडक दुर्घटनासमेत कम हुने स्थानीयको अपेक्षा रहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्