राप्रपाले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, किसानका मुद्दा लिएर कृषि ज्ञान केन्द्रमा धर्ना गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मूल्यवृद्धि मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको केही दिनपछि उसका भातृ संगठनले आन्दोलनका कार्यक्रम गर्ने भएका हुन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना, कोणसभा र जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने गर्ने निर्णय गरेको छ । बैठकले असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ ।

असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको राप्रपाले असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी पार्टीले असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्