‘देश र जनताको हितका लागि बजेट ल्याउँदा विरोध किन गरिन्छ’ : अर्थमन्त्री शर्मा  

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाका बारेमा जवाफ दिँदै उनले बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट रहेको बताए ।

देशको आवश्यकतालाई सम्बोधन गर्ने खालको बजेट आफूले प्रस्तुत गरेको उल्लेख गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्णरुपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ छ । आगामी आवको बजेटप्रति आफू जिम्मेवार रहेको जानकारी दिँदै उनले वर्तमान सरकारले यसको पूर्ण अपनत्व लिने बताए । उनले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले आपत्ति जनाउँछ र विरोध गरिन्छ भने त्यसको कुनै अर्थ नरहने बताए ।

औद्योगिक क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकतामा राखिँदा त्यसैलाई विचौलियालाई फाइदा भयो भनेर नमिल्ने कथा बुनिएको अर्थमन्त्रीको भनाइ छ । विद्युतीय सवारी साधनका सन्दर्भमा पनि सरकारले स्पष्ट दृष्टिकोणका साथ नीतिगत व्यवस्था गरेको तथा विलासी सवारीसाधनको आयातमा केही नियन्त्रण गर्न खोजिएको उनले बताए ।  सरकारले देशभित्रै उत्पादन हुने रु दुई अर्ब बराबरको स्यानिटरी प्याड खरिद गर्ने गरी व्यवस्था गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा भएको इन्धनको मूल्यवृद्धिका कारण पनि केही समस्या देखिएको भन्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबाटै अर्थतन्त्रलाई सबल बनाइने विश्वास व्यक्त गरे ।

त्यस्तै अर्थमन्त्री शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्