हाँसपालनबाट मनग्य आम्दानी, बजार सहज भएकाले किसान आकर्षित

Ad
  • कालोपाटी सम्बाददाता

रत्ननगर । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् । भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आएका शङ्कर महतोले हप्तामा ५०० वटा हाँसका चल्ला बिक्री गर्दै । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आएका छन् । उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए ।

“मैले पहिले बुङ्गुरपालन गरेँ, माछापालन गरेँ, च्याउ खेती गरेँ । तर, विगत दुई वर्षदेखि हाँसपालन सुरु गरेको छु” महतोले भने , “हाँसबाट निकै नै सन्तुष्टि मिलेको छ । यसको बजार खोज्न हिँड्नुपरेको छैन । फार्मबाटै बिक्री हुने गरेको छ ।” महतोले आफ्नै फार्मबाट तयारी हाँस, हाँसका चल्ला तथा अण्डा बिक्री गर्दै आए । उनले प्रतिचल्ला रु १८० सम्म बिक्री गर्दै आएको बताए । त्यस्तै, हाँसको अण्डा रु ३० प्रति गोटा तथा तयारी हाँस प्रति किलोको रु ३५० मा बिक्री गर्ने गरेको महतोले बताए ।

“हाँसको मासु तथा अण्डाबाट धेरै फाइदा हुने भएकाले र हाँसको मासु मीठो हुने भएकाले मानिस फार्ममै आएर हाँस तथा चल्ला र अण्डा किनेर लैजाने गरेका छन्”, महतोले भने , “पछिल्लो समय रेष्टुरेन्ट तथा होटलले छोइला बनाउनका लागि समेत हाँसको माग गरेका छन् ।” सानो क्षेत्रफलमा पनि राम्रोसँग हाँसपालन फस्टाएको र धेरै दुःख नगरी राम्रो आम्दानी लिन सकिने भएकाले हाँसपालनमा लागेको उनको भनाइ छ । महतोले भने , “दाना हुँदा दाना दिने, होइन भने घाँसबारीमा छोडिदिएमा पनि हाँस अघाउने गरेको छ ।” माछा पोखरी र धानबारीमा हाँसपालन गर्दा दोहोरो फाइदा लिन सकिन्छ ।

“धानखेती भएको ठाउँमा माछापालन गर्दा हाँसले धानमा हुने अनावश्यक झारहरु खाने तथा नष्ट गर्ने गर्छ तर धानलाई कुनै पनि नोक्सान गर्दैन”, महतोले भने । त्यस्तै माछा पोखरीमा हाँसपालन गर्दा पोखरीमा भएका अनावश्यक घोँगी, सिपी तथा सर्पहरु हाँसले खाइदिन्छ जसले गर्दा माछा सप्रिन पाउँछ । पोखरीमा हाँस पालन गर्दा हाँसले पोखरीमा पौडी खेल्दा र घोँगी टिप्न जाँदा पानीमा अक्सिजनको मात्रा समेत बढेर माछालाई फाइदा पुग्ने बताइन्छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्