सुदूरपश्चिममा ६० प्रतिशत खेतमा रोपाइँ गर्न बाँकी, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

सुदूरपश्चिम । रोपाइँ गर्न पुग्ने गरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशमा धान बालीको खेती गरिने ६० प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा अझै रोपाइँ हुन नसककेको हो । सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । आजसम्म प्रदेशमा धानखेती गरिने क्षेत्रफलको जग्गामध्ये ४० प्रतिशतमा मात्रै रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । सबैभन्दा बढी धान उत्पादन हुने कैलाली जिल्लामा आजसम्म ३० प्रतिशत जग्गामा मात्र रोपाइँ हुनसकेको छ ।

यस्तै कञ्चनपुरमा ४५ प्रतिशत जग्गामा रोपाइँ भएको छ । “यसपालि कैलाली र कञ्चनपुरमा रोपाइँ गर्न ढिला भैसक्यो”, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने , “सिँचाइको भरपर्दो व्यवस्थाका लागि ठूलो सिँचाइ आयोजना ल्याउन जरुरी भइसकेको छ ।” मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । तर आजसम्म प्रदेशमा ठूलो मनसुनी वर्षा हुन सकिरहेको छैन । यस वर्ष मनसुन जेठ २२ गते पूर्वी नेपाल प्रवेश गरेको बताइए पनि सुदूरपश्चिममा मनसुन सक्रिय हुनसकिरहेको छैन । गएको एक महिनायता यो प्रदेशमा अन्य प्रदेशहरूको तुलनामा निकै कम वर्षा भएको अनुमान छ ।

मनसुनी वर्षा भएपछि रोपाइँ गरौँला भन्ने आसमा बसेका सुदूरपश्चिम प्रदेशका किसानले आज वर्षा भएपछि भने केही राहत महसुस गरेका छन् । भूमिगत र सतह सिँचाइको पानीको सहायतामा रोपाइँ गरिएको खेतको बाली सप्रिन आकाशको पानी आवश्यक पर्ने किसानको अनुभव छ । एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार४०४ हेक्टरमा रोपाइँ हुन्छ । अधिकांश जग्गामा आकाशको पानीको भरमा रोपाइँ गर्ने गरिन्छ ।

प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभपरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ । धान बढी उत्पादन हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा धान आपूर्ति हुन्छ । यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा यसको पर्याप्त सुविधा छैन । रासायनिक मल डिएपीको अभावले समस्या झेलिरहेका किसानलाई वर्षा हुन नसक्दा समयमै रोपाइँ गर्न नसकिने अर्को समस्या थपिएको छ । रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुुकिछिपीरूपमा कम गुणस्तरको रासायनिक मल भित्र्याएर रोपाइँ गर्नुपर्ने वाध्यता किसानको छ ।

“सरकारले कृषिलाई प्राथमिकतामा राखेको भन्ने सुन्दा खुसी लागेको थियो”, कैलालीका कृषक मीनराज बोहराले भन्नुभयो, “तर चाहिने मात्रामा डिएपी मल कहिल्यै पाइँदैन, यसपालि इन्द्र भगवान्ले पनि समयमै वर्षा गराएनन् ।” धानको ब्याड तयार भइसकेको भए पनि आफूहरु वर्षा होला र रोपाइँ गरौँला भनेर पर्खिबसेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ सम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त समय मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्न सक्ने कृषि प्राविधिकको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्