राजेश हमाल र अध्यक्ष दाहालबीच भेटवार्ता, चलचित्र उद्योगमा परेको असरप्रति हमालद्धारा प्रचण्डको ध्यानाकर्षण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । हमाल दाहालसँग भेटवार्ता गर्ने शुक्रबार बिहान प्रचण्डको निवास खुमलटार पुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तीबीच करिब आधा घन्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा परिचर्चा भएको जानकारी दिए ।

पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए । विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे हमालले ध्यानकर्षण गराउँदा प्रचण्ड गम्भीर देखिनुभएको थियो’, सापकोटाले भने ।

भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो । प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए । यद्यपि आफ्नो पार्टी माओवादीमा आवद्ध हुन भने उनले आग्रह गरेनन् ।

कुनै पनि फिल्मी कलाकारलाई एक्लै यति लामो समय प्रचण्डले भेटेको पहिलोपटक भएको सापकोटाको दावी छ । स्रोतका अनुसार राजेश हमालको भित्री चाहना कुनै देशको राजदूत बन्ने छ । यसकै निम्ति प्रचण्डसँग उनले हिमचिम बढाउन खोजेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्