चैत ५ गते स्ववियु निर्वाचन गरिने

Ad
  • कालोपाटी सम्बाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।

त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए  ।

सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्नेगरी हामीले त्रिवि कार्यकारी परिषद्लाई निर्वाचन गर्न सिफारिस गरेका छौँ”, उनले  भने , “अब चाँडै नै त्रिवि कार्यकारी परिषद्को बैठकले हामीले तय गरेको मितिलाई अनुमोदन गर्नेछ ।”

त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उहाँले जानकारी दिए  । त्रिविमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा यही पुस ११ गते सबै विद्यार्थी सङ्गठनका अध्यक्षसँग छलफल गरेको थियो ।

निर्देशनालयका निर्देशक अधिकारीले सबै सङ्गठनले स्ववियु निर्वाचनमा सहमति जनाएकाले मिति तोकी सिफारिस गरिएको बताए  । त्रिविले यसअघि त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग पनि स्ववियु निर्वाचनका सम्बन्धमा छलफल गरिसकेको छ ।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्