सम्पर्कमा आएनन् १७ जना मिटरव्याजी पीडितहरु !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मिटरव्याजबाट पीडित भएकाहरु सम्पर्कमा नआएको पाइएको छ । अनुचित लेनदेन (मिटरव्याजी)बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा निवेदनमा छलफल भएको छ । जसमध्ये २१ वटा निवेदनको सहमति भइसकेको छ भने १७ जना निवेदक सम्पर्कमा नआएका हुन् । उनीहरुलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा ल्याउन नसकिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मिलापत्र भएका निवेदकबाट ३ करोड १५ लाख ५९ हजार ८ सय ५० रुपैयाँ पीडितले माग गरेको भए पनि ३ करोड १३ लाख ५ हजार ८ सय ५० रुपैयाँ तिर्ने सहमति भएको हो ।

पीडितले लिएको २ करोड ९२ लाख ५६ हजार ८ सय ५० रुपैयाँ सरकारको चलनचल्तीको व्याजदरका आधारमा रकम तिर्ने सहमति भएको हो । कार्यालयले हालसम्म १० कट्ठा १२ धुर जग्गा फिर्ता गर्ने सहमति गराएको छ । भरतपुर महानगरपालिका-४ निवासी पीडितको जग्गा भरतपुर महानगरपालिका-२ निवासी पीडकले सात कट्ठा १३ धुर फिर्ता गरेका छन् । उक्त महानगरपालिका-११ का पीडितको १८ दशमलव २५ धुर र रत्ननगरका एक पीडितको दुई कट्ठा जग्गा फिर्ता गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यालयमा विसं २०८० वैशाख १९ गतेदेखि जेठ १४ गतेसम्म ६० वटा जेठ १७ गतेदेखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका थिए । उजुरी परेकामध्ये अधिकांश जग्गाको कारोबारका र चेक बाउन्सका रहेका छन् । पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गापीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताएका छन् । अधिकांशले जग्गा फिर्ता गरिपाउँ भनी निवेदन दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्