सुन्तलाको बजारीकरण गर्न सोमबारदेखि सुरु भयो सुन्तला महोत्सव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकामा (आज) सोमबारदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने भएको छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ ।’ गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उनको भनाइ छ । महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ । बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको कक्ष महोत्सवमा राखिने अध्यक्ष गुरुले बताएका छन् ।

महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव हुने छ । स्थानियले बनाएका परिकार पाहुनालाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गर्ने छन् । अध्यक्ष गुरुङले भने, ‘इच्छाकामनामा उत्पादन भएका सुन्तला देशका विभिन्न बजारमा बिक्री गर्न सहज हुने विश्वासका साथ महोत्सव आयोजना गरेका हौँ । यसबाट यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास छ ।’

गाउँपालिका कृषि विकास शाखाका अनुसार त्यहाँका ४ सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरी रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ । अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिएका छन् । यस वर्ष त्यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।

कृषि ज्ञान केन्द्रले गत वर्ष सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५ हजार १ सय बिरुवा वितरण गरेको थियो । गत वर्ष त्यहाँ १ हजार ६ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्