थारु समुदायका महिला ढकिया बुन्न सिक्दै..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । परम्परागत हस्तकला सीपतर्फ पछिल्लो पुस्ताले खासै चासो दिएको पाइँदैन । नयाँ पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको छ । कला-संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहामा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।

चितवनको रत्ननगर नगरपालिका-१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारू समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन् । उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेकी छिन् । उनीजस्तै ३० थारू महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारू आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारू कल्याणकारिणी सभा चितवनको समन्वयमा थारू महिलाका लागि तालिम दिइएको हो ।

यस्तै, जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसकेकी छिन् । उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकेकी छिन् । उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरू तालिम लिन आएको बताइन् । उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएकाकारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताइन् । यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको उनको भनाइ छ ।

प्रशिक्षक मुना चौधरीले महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एक जनाले चार-पाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताइन् । तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उनले जानकारी दिइन् । सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उनले बताइन् । तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ ।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारू महिलाको सहभागिता रहेको छ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ । थारू समुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँपुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारू कल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताएका छन् । थारू कला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्