वृद्धाको हत्यामा संलग्न आरोपी पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वृद्धाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका-६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी सुकु तामाङलाई बिहीबार पक्राउ परेको हो ।

गत सोमबार राति ७५ वर्षीया खत्रीको हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको हो । अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) संजयसिंह थापाले जानकारी दिएका छन् ।

उनले भने, ‘लामो समयदेखि लागुऔषध दुर्वेसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ । वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।’ वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार र उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-६ च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो ।

प्रहरी प्रमुख थापाले भने, ‘गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ । नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ् ।’ एकल महिला र नि:सन्तान खत्रीको सोमबार राति १० बजे हत्या भएपनि छिमेकीले मङ्गलबार मात्र थाहा पाएका थिए । सो घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्