मलेसिया गएका विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मलेसिया गएका विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका हुन् ।

उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए । विनोदकी ६६ वर्षीया आमा सुकमाया भन्छिन्, ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो । अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।’ उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा-बुबाको हेरचाह गरेर बसेका छन् । कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् । दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन् । उनले भने, ‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो । त्यसपछि खबर छैन ।’ सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताएका छन् । उनले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको बताएका छन् ।

आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन् । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताएका छन् । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले जानकारी दिएका छन् ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले जनाएका छन् । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किएका हुन् । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया जाएका थिए भन्ने बारेमा उनका बुबा र आमाले जानकारी दिन सकेका छैन्न् । तर, मेनपावर कम्पनीसम्म पुर्याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको परिवारले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्