किसानद्धारा मकै र धानको बीउको मूल्य निर्धारण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको सोमबार सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ।

बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद रु १ सय ५ र बिक्री रु १ सय २५ तोकेको छ । त्यसैगरी अरुण-२ खरिद रु १ सय २० र बिक्री रु १ सय ४० निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् । प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी रु ९५ र बिक्री रु १ सय कायम गरिएको छ । गतवर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ । गतवर्ष ५ सय २७ क्विन्टल बीउ उत्पादन भएकामा यसवर्ष ३ सय ७७ क्विन्टल मात्र बीउ उत्पादन भएको छ । जिल्लामा यसवर्ष रु ४० लाख बराबरको मकैको बीउ उत्पादन भएको उनले बताएका छन् ।

यसवर्ष १ सय ५६ मेट्रिकटन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७.७ मेट्रिकटन मात्र बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन् । जिल्लामा ५ सय ६१ मेट्रिकटन कमैको बीउ आवश्यक पर्नेमा बीउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उनको भनाइ थियो । जिल्लामा उन्नत बीउको उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाइब्रिड बीउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताएका छन् ।

त्यसैगरी, बीउ उत्पादक सञ्जालले स्थानीय धानको बीउको मूल्य पनि निर्धारण गरेको छ । निर्धारित मूल्यअनुसार स्थानीय हँसराज धान खरिद प्रतिकेजी रु १ सय र बिक्री रु १ सय १५ कायम गरिएको छ । चैत-५ र खुमल-१० प्रतिकेजी खरिद रु ८० र बिक्री रु ९० र मकवानपुर-१ खरिद प्रतिकेजी रु ७० र बिक्री प्रतिकेजी रु ८० निर्धारण गरिएको छ । पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाईब्रिड बीउको प्रयोग बढ्दो छ । त्यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाईब्रिड बीउ प्रयोग गर्ने गरेको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्