अत्यधिक चिसोकाकारण एक साताका लागि विद्यालय बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा सोमबारदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लगाएको हो ।

महानगरपालिकाको शिक्षा समितिको आइतबार बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको शिक्षा अधिकृत हरि राउतले जानकारी दिएका छन् । कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिने निर्णय भएको उनको भनाइ थियो । एक्कासि बढेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ ।

बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दूधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । चिसो बढेकाले सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।

चिसोले बिरामी भएका दैनिक करिब ३० देखि ३५ जनासम्म उपचारका लागि आउने गरेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिएका छन् । दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्