भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको हो ।

भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् । भरतपुर-१८की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुन् । घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उनले सबै जिम्मेवारी थेग्न सकेनन् र उनलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो । गीताले भनिन्, ‘श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।’ सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उनको भनाइ छ ।

यस्तै, गीताले श्रीमानलाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताइन् । घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर-१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उनको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थालिन् । अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय रहेकी छन् । उनले घरखर्च आफैँले कमाएर चलाएका छन् । उनले भनिन्, ‘आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ । तर, आजकाल त्यस्तो छैन ।’ उनी आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आएकी छन् ।

विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताएकी छिन् । भरतपुर-१६ कै सङ्गीता रेग्मी भट्टले पहिला-पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताइन् । घरमा निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर भएको उनी अहिले त्यस्तो नरहेको बताउँछिन् ।

वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाएकी भरतपुर-२५ की राधा खाती अहिले मानसिक र शारीरिक रूपमा स्वस्थ छिन् । श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उनलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमानलाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उनले गुनासो गर्दैगर्दा उनी निकै भावुक बनिन् । यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताइन् । सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उनले सुनाइन् । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उनीहरूको परिवारमा खुसियाली छाएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र ६ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आर्थिक वर्षमा मात्र भरतपुरबाट ६ हजार ५ सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जनाएका छन् ।

वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिए। उनका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्