खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ: कृषिमन्त्री भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन् । हेटौँडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई बहुवर्षीय योजना अन्तर्गत स्रोतसाधनसहित जनशक्ति उपलब्ध गराउनेतर्फ गृहकार्य भइरहेको जानकारी गराएका छन् । मुलुकमा खाद्यान्नको अभाव हुने अवस्थाको अन्त्यका लागि सङ्घीय सरकारले तत्कालै रु ५५ अर्बको खाद्यान्न बाह्य मुलुकबाट आयात गरिने लक्ष्यका साथ स्रोतसाधन परिचालन गरेको उनको भनाइ छ । मन्त्री भुसालले प्रदेशका स्थानीय तहले पनि आ-आफ्नो निकायमार्फत स्थानीयस्तरमा खाद्यान्नबाली, मौसमी तरकारी, दूध उत्पादन र माछाको उत्पादनका लागि वार्षिक कार्यक्रम तर्जुमा गरिँदा थप स्रोतसाधन परिचालन गर्नेतर्फ जिम्मेवारीबोध गर्न आह्वान गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले उपमहानगरपालिकाले वडा नंं १ देखि १९ सम्म भूगोल अनुसारको कृषि उत्पादन, पशुपालन र माछापालनका लागि कृषि पकेट कार्यक्रम तर्जुमा गरिएको र स्थानीय किसानलाई उन्नत प्रविधिबाट खेती गर्ने प्रावधानलाई अघि बढाउन आवश्यक जनशक्ति परिचालन गरिने जानकारी दिएका छन् । मकवानपुरलाई खाद्यान्नतर्फ आत्मनिर्भर बनाउने लक्ष्यका साथ उपमहानगरपालिकाले काम गरेको उनको भनाइ थियो ।

सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकार सूर्यप्रसाद सेढाईं, हेटौँडा उप-महानगरपालिकाका उपप्रमुख राजीव बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका उपसचिव सीता विष्टले जिल्लाका स्थानीय तहले जनताको पूर्वाधार विकासका साथै कृषि उत्पादन, पशुपालनका लागि घाँसखेती र सिँचाइको थप योजनालाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्