भारतीय नागरिकलाई बन्धक बनाउने ९ जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अमेरिका लैजाने भन्दै काठमाडौँमा भारतीय नागरिकलाई बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलनको आयोजना गरी भारतीयलाई बन्धक बनाउने ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार पक्राउ पर्नेमध्ये १ जना नेपाली र ८ जना भारतीय नागरिक रहेका छन् । उनीहरूले काठमाडौँको रातो पुलस्थित एक घरमा १४ जना भारतीयलाई बन्धक बनाएर राखेका थिए ।

एसएसपी खत्रीका अनुसार त्यहाँ उनीहरूलाई कसैले सोधे सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको थियो । बन्धक बनाइएकाहरूलाई शारीरिक यातना समेत दिने गरेको प्रहरीले फेला पारेको छ । उनीहरूलाई पिट्नका लागि गिरोहले राखेको पाइपको लठ्ठी प्रहरीले बरामद गरेको छ । गिरोहले केही व्यक्तिहरूलाई १४ दिनदेखि र कोहीलाई एक-दुई दिनअघि मात्रै ल्याएको एसएसपी खत्रीको भनाइ छ ।

यसैगरी बन्धक राख्न गिरोहले मासिक ७५ हजार लिएर सो घर भाडामा लिएका थिए । उनीहरूको साथबाट विभिन्न देशका मुद्राहरू पनि बरामद गरिएको छ । प्रहरीले ‘अपरेशन डंकी’ चलाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरूद्ध शरीर बन्धक कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको एसएसपी खत्रीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्