कर्णाली प्रदेशमा खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । खेतीयोग्य जमिनमा अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको हो ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो । प्रदेशका ५७ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ । कर्णालीमा १ लाख २३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ । जसमध्ये २९ हजार २ सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, ३ हजार ३ सय १२ हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुग्दा भने अनुसारको उत्पादन हुन सकेको छैन । जसले गर्दा परनिर्भरता बढ्दै गएको कृषि विज्ञहरु बताउँछन् । राष्ट्रिय कृषि गणनाअनुसार कर्णाली प्रदेशका ८४ प्रतिशत नागरिकको मुख्य आम्दानीको स्रोत कृषि हो ।प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको दाबी गरेको छ । प्रदेशको कृषि निर्देशनालयका अनुसार ४२ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

त्यसैगरी निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले भने, ‘कर्णालीमा खेती हुँदै आएको क्षेत्रफलको ६८ प्रतिशतमा पूर्ण आंशिकरुपमा सिँचाइ पुगेको छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा पनि सिँचाइ पोखरी निर्माण गर्ने, लिफ्टिङ गरेर स्रोत नभएका ठाउँमा सिँचाइ सुविधा पुर्याउने गरी कार्यक्रम भइरहेका छन् । अबको केही वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्