करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करबाकेली ‘ट्रयाक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको सङ्ग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाको भनाइ छ । ‘धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो । सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ’, उनले भने ।

त्यस्तै, मौलिकता झल्कने गरी करिब रु ८५ लाखमा निर्माण भएको यो सङ्ग्रहालय बनाउन गाउँपालिकाले रु ७ लाख र प्रदेश सरकारले रु ५ लाख बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो । दुईतला भएको सङ्ग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री सङ्कलन गरेर राखिएका छन् । यसैगरी त्यहाँ आउने सबै पर्यटकले सङ्ग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त सङ्ग्रहालयमा पर्यटकका लागि रु १ सय ५० र स्थानीयका लागि रु ५० प्रवेश शुल्क लिने गरिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने नि:शुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ । सङ्ग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन् ।

यस्तै, सङ्ग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुगेका रमेश शर्माले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्