नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण: राष्ट्रपति पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुन:निर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुन:निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको जानकारी दिएका छन् । ‘काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुन:निर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ’, राष्ट्रपति पौडेलले भने ।

उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले क्षतविक्षत् भएको बालकुमारी मन्दिर बनाउन महानगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिँदै मन्दिर पुन:निर्माण गरी राष्ट्रपतिको हातबाट समुद्घाटन गर्न पाएकामा खुसी व्यक्त गरेका छन् । त्यसैगरी उनले देवालय, शिवालयजस्ता पुरातात्विक महत्वका सम्पदा निर्माणमा सार्वजनिक खरिद ऐन, २०६३ बाधक भएको भन्दै उक्त ऐन संशोधन गर्न सुझाव दिएका छन् ।

राष्ट्रपतिले कुनै समस्या सिर्जना नहुने गरी आफ्नो कार्यकालभित्र ऐतिहासिक महत्त्वका १ सय ५५ वटा मठमन्दिर, पाटीपौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको पनि जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्