प्रधानमन्त्री भन्छन्:-‘निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदैछ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको उनले स्पष्ट पारेका छन् । ‘चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु २ खर्ब ९७ अर्ब ७२ करोडले शोधनान्तर बचत छ’, प्रधानमन्त्री दाहालले भने, ‘विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई झन्डै रु १८ खर्ब ४५ अर्ब बराबर पुगेको छ ।’ त्यसैगरी व्यापार घाटा १.८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति ५.१ प्रतिशतमा सीमित गरिएको जानकारी दिएका छन् । उनले कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको उल्लेख गरेका छन् ।

यस्तै, ‘विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘पूँजीगत खर्च पनि अपेक्षाअनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुतता दिने, पूँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।’ उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारेका छन् ।

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूका आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘व्यापार घाटामा कमी आएको छ । तर, निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढेको छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्