‘महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो’:-प्रधानमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित ७औँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘विगतका तुलनामा नेपाली महिलाको अवस्था क्रमश:सुदृढ हुँदै गएको छ । तर, आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।’

त्यस्तै, पछिल्लो समय सशक्तीकरणको विषय शक्तिसँग जोडिएकोमा पनि प्रधानमन्त्रीले जोड दिएका छन् । उनले भने, ‘सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’ सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई अझ बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महिला उद्यमशीलताको विकासका माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण रहेको उनले जनाएका छन् । साथै, प्रधानमन्त्रीले सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रर्वधन गर्न कर छुटदेखि अन्य सहुलियतपूर्ण व्यवस्था गरेको र आगामी दिनमा त्यसलाई बढाउँदै लगिनेसमेत उल्लेख गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्