काठमाडौँ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याउने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो । उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ ।
फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ । झापाको चारआलीबाट पक्राउ परेर काठमाडौं ल्याएका फुँयालले प्रसाईंसँग माफी नमागे ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ ।
‘नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ,’ सीआईबीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।