Skip to content

अर्को महिना बङ्गलादेश फर्कने पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

कालोपाटी

४० मिनेट अगाडि

काठमाडौं  । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आउँदो डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याउनुभएको छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहनुभएकी हसिनाले पक्राउ, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताउनुभएको हो ।

प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार घटनामा झन्डै १ हजार ४०० जनाको ज्यान गएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउनुभएको छ ।

बङ्गलादेशले पटक–पटक सुपुर्दगी मागे पनि भारतले उहाँलाई हस्तान्तरण गरेको छैन ।

समाचार संस्था एपीलाई इमेलमार्फत जवाफ दिँदै उहाँले आफ्नै देशको माटोमा र नागरिकबीच मर्न चाहेको बताउनुभएको छ ।

हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गएको फेब्रुअरीमा भएको चुनावबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आउनुभएको छ ।

हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएका तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेका आरोप लगाउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार