वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण, डढेलो लागेमा त्यसलाई निभाउन सहज हुने

Ad
  • कालोपाटी सम्बाददाता

गोरखा । वन्यजन्तुको उपभोगका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाभित्रका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’ कार्यक्रमअन्तर्गत हालसम्म १५ पोखरी निर्माण गरेको छ । सहायक वन अधिकृत महेश पौडेलका अनुसार पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयले एक लाख उपलब्ध गराउँदै आएको छ ।

“कार्यालयले उपलब्ध गराएको रकमबाहेक थप २० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ, उपभोक्ता र कार्यालयको साझेदारीमा सामुदायिक वनमा पोखरी निर्माण गरिँदै आएको छ”, उनले भने । वन कार्यालयले सकेसम्म सामुदायिक वनमा नजिकै पानीको मुहान भएको ठाउँमा पोखरी निर्माण गर्ने गरेको छ । पानी अभाव भएको स्थानमा समेत बाहिरबाट पाइपमा पानी ल्याएर पोखरीमा सङ्कलन गर्ने गरेको छ । “वन्यजन्तुलाई अब पानीको अभाव हुँदैन”, पौडेलले भने , “त्यसबाट जङ्गली जनावर गाउँबस्तीमा छिर्ने क्रम रोकिने छ ।”

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उनको भनाइ छ । जङ्गलमा पोखरी निर्माण गर्दा डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुनेछ । कार्यालयले निर्माण गर्दै आएको पोखरी करिब १३ मिटर लम्बाइ ६ मिटर चौडाइ र झण्डै एक मिटर गहिराइको रहेको छ । कार्यालयले आर्थिक वर्ष २०७५-७६ देखि गोरखाका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक–एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण गर्दै आएको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्