डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम, वृक्षरोपणमा फलफूलका बिरुवालाई प्राथमिकता

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उक्त गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही सङ्ख्यामा वृक्षारोपण गरिने योजना छ । उनले भने “मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभर वृक्षारोपण अभियान सञ्चालन गछौँ, वृक्षरोपणमा फलफूलका बिरुवालाई प्राथमिकता दिन्छौं ।

यसले गाउँपालिकावासीलाई आत्मनिर्भरताको बाटोमा डोयाउन सहयोग पुग्छ ।” कार्यक्रमका लागि गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको र कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीलाई आग्रह गरिएको छ । अहिलेका लागि बर्खे फलफूलअन्तर्गत कागतीका बिरुवा वितरण गर्ने योजना रहेको जनाइएको छ ।

मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनेहरुले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ । यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख छ । कृषिमार्फत उद्यमशीलतासँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

वातावरण संरक्षण गर्न सके मात्रै मानव जातीलाई सहज हुने भएकोले यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने जोशीको भनाइ थियो । यसअघि विश्व वातावरण दिवसका अवसरमा गाउँपालिका अध्यक्ष जोशीले मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्