बलेवा । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हव’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई पनि प्राथमिकतामा राखेको हो ।
किसानका लागि उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एकपटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए । आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम तय गरिएको उनले जानकारी गराए । मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ । मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा रु ५०० देखि एक हजार किलोसम्ममा बिक्री हुने गरेको छ ।
अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ । उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशमासमेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमिनमा तारबारदेखि बाँझो जमिनमा खेती लगाउन सुरुआत गरिने अध्यक्ष गौचनले बताए ।
गाउँपालिकाले फलफूल र तरकारीका अलावा पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवद्र्धनका कार्यक्रम ल्याएको छ । गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यूनीकरण गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्राङ्गारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्राङ्गारिक मल तथा परम्परागत घरायसी किटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उनको भनाइ थियो ।
गाउँपालिकाको पहिचानका रूपमा रहेको अन्नको भण्डारका भनेर चिनिने कुञ्जो गाउँलाई कृषि उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गरेर किसानलाई सवल बनाइने अध्यक्ष गौचनले बताए । गाउँपालिकाले पर्यटन क्षेत्रलाई कृषिपछिको महत्वपूर्ण आर्थिक विकासको क्षेत्रका रूपमा विकास गर्ने भएको छ । यहाँ रहेका तालतलैया, पदमार्ग र धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रवद्र्धनका लागि गाउँस्तरमै कार्यक्रम तयार गरिएको हो । -रासस