रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया शुरु

Ad
  • कालोपाटी सम्बाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यही चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवन, चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले गर्ने गरी निर्वाचन प्रक्रिया शुरु गरेका हुन् ।

यस्तै आज महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, महेन्द्र बहुमुखी क्याम्पस दाङ, पक्लिहवा कृषि क्याम्पस भैरहवा र भैरहवा बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छ ।

त्रिविले केही दिनअघि मात्र निर्वाचन प्रक्रिया शुरु नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

अधिकारीले निर्वाचन प्रक्रिया शुरु नभएका क्याम्पसमा पनि समझदारीको प्रयास भइरहेको जानकारी दिनुभयो ।

यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ ।

त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आङ्गिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा यही चैत ५ गते निर्वाचन भएको थियो । त्रिविमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्