दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई (आज) सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन् । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीका रुपमा आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै उहाँले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको बताएका छन् ।

त्यस्तै, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स ९युएई० मा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, “म युएईमा हुँदा एनसेल खरिद बिक्री भएको सुनेँ, यसमा सतर्कतापूर्वक अध्ययन गर्न निर्देशन दिएँ । साथै, स्वदेश फर्केको भोलिपल्ट मुख्यसचिवलगायत पदाधिकारीलाई यसबाट नेपालको कर प्रणाली, वैदेशिक लगानी तथा केही वर्षपछि सो कम्पनी नेपाल सरकारले प्राप्त गर्ने प्रावधानमा के कस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएँ ।

अस्वाभाविक देखिएको एनसेल खरिद बिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘सेयर खरिद बिक्रीमा कैफियत छ, छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ । राष्ट्र, जनता र मुलुकको अर्थतन्त्रका पक्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने प्रस्ताव राखेँ ।’ सो सेयर खरिद बिक्री सम्बन्धमा सरकारले अनुसन्धान गर्नुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताएका छन् ।

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान सत्तागठबन्धन पूरै अवधि कायम रहने बताएका छन् । उनले एक वर्षको समीक्षा गर्ने र आगामी वर्षका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धतासमेत दोहोर्याएका छन् । बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टरका नेता महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलगायतको सहभागिता रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्