कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता, विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारको राजधानी दोहामा उनीहरुबीच सोमबार साँझ शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन  अनुरोध गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताएका छन् ।

यस्तै, जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको जनाएका थिए । उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गरे । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको बताएका छन् ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत कुराकानी गरेका छन् । परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, विषय विज्ञ, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी हुनुभएको स्वकीय सचिव जोशीले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्