Skip to content

प्रमाण बोल्छ -‘गगन थापाले चुनावी खर्च विवरण बुझाईसकेका थिए, अरु बाँकी हल्ला हुन्’

कालोपाटी

२ घण्टा अगाडि

सामाजिक संजालमा केहि दिन यता गगन थापा निर्वाचन आयोगको कालोसूचीमा परेको खबर आगोजसरी फैलियो । कतिले त गगनले चुनाव लड्दिन भनेको विषयलाई ‘कालोसूचीमा परेको रहेछ, अनि कसरी लड्नु ?’ भनेर समेत आलोचना गरे । तर गगनका बारेमा फैलिएको वा फैलाइएको सो सूचना गलत थियो । सत्यचाहिं के थियो भने उनले निर्वाचन खर्च विवरण २०७९ साल मंशिर २५ गते आयोगमा बुझाईसकेका थिए ।

उनले २७ जुलाई २०२३ मा एउटा फेसबुक पोष्ट मार्फत जानकारी दिँदै भनेका थिए – ‘निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’

अर्थात गगनले चुनाव सकिएपछि खर्च विवरण सार्वजनिक गरेका रहेछन्, तर त्यसको जानकारी प्रचलित नियम अनुसार आयोगलाई गराएका रहेनछन् । पछि यस विषयमा थाहा पाउनेबित्तिकै उनले नियम अनुसार १५ हजार रुपैयाँ जरिवाना तिरेर त्यसको जानकारी आयोगमा दिएका रहेछन्, जुन उनको फेसबुक पोष्टमा पनि उनले उल्लेख गरेका छन् । उनले आफुले चुनावमा ३३ लाख ४८ हजार ७ सय ५ रुपैयाँ खर्च गरेको विवरण आयोगलाई बुझाएर सोको जानकारी सामाजिक संजालमा पोष्टसमेत गरेका थिए ।

तर चुनाव नजिकिएसँगै गगनका बारे अफवाह फैलिन थाले, सायद फैलाउन थालियो । यस्तो गलत सूचना सार्वजनिक गर्ने मामलामा स्वयम् निर्वाचन आयोगको भूमिका पनि शंकास्पद देखिन्छ । आयोगले गगनको हकमा मात्र होइन, निर्वाचन खर्च विवरण बुझाईसकेका अन्य थुप्रै  नेताहरुको हकमा पनि सूचनाको मामलामा लापरवाही गरेको छ । निर्वाचन आयोगको सोहि गल्तीको फाइदा उठाउँदै गगनका विरोधीहरुले मसला पाएका छन् ।

तर, ढिलो नै सहि, सत्य होस् वा झूट, त्यसको पर्दा खुलेरै छोडछ । र, यो विषयमा सत्य यहि हो कि गगन थापाले निर्वाचन खर्च विवरण नबुझाएर निर्वाचन आयोगको कालोसूचीमा परेको खबर भ्रामक हो । र तथ्य यो पनि हो कि निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण नबुझाएकै कारण थापाले चुनाव लड्न नपाएको विषयमा पनि कुनै सत्यता छैन ।

प्रतिक्रिया दिनुहोस्