महाकाली नदीलाई स्वच्छता राख्न आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

दार्चुला । महाकाली नदीको स्वच्छताका लागि जिल्लाका अगुवाले सबैपक्षसँग आग्रह गरेका छन् । कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि उनीहरुले यस सम्बन्धी अभियान नै सञ्चालन गरेका हुन् । अभियन्ता शङ्करसिह धामीले पवित्र नदीको स्वच्छता र संरक्षणका लागि सबैले योगदान गरौँ भन्दै सामूहिक भेला भएर प्रतिज्ञा गरिएको बताए । खासगरी सदरमुकाम क्षेत्रमा घरभित्र र बजारको ढल महाकाली नदीमा मिसाइएको छ । यसबाट नदी दूषित बनेको छ । “यो नदीको स्वच्छता कायम राख्नु मानव जगत्को कर्तव्य हुन जान्छ”, उनले , “ नदीको पानी नै प्रयोग गर्नुपर्ने बाध्यता हुनसक्छ । यसका लागि नदीको स्वच्छता र सरसफाइमा ध्यान जानु आवश्यक छ ।”

सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वन नजिकै भएको जागरण भेलामा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । नदी दुर्गन्धित हुँदा नदीमा आश्रित जीवजन्तु पनि विस्तारै लोप हुँदै गएको अधिकारकर्मी नारायण जोशी बताए । “हामीले नदीको स्वच्छता अभियान सञ्चालन गर्न बेला–बेलामा सचेतना अभियान चलायौँ”, उनले भने , “तर सदरमुकामवासीको व्यहोरा परिवर्तन हुन सकेन । ”

महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । जागरण भेलामा सहभागी विमल बोहराले भन्नुभयो, “बङ्गाबगडबाट किम्तडीसम्म हे¥यो भने जताततै फोहरैफोहर छ । यो हामी मानव जातिलाई सुहाउने काम होइन ।” खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्तडी नजिकैको छेउमा फोहरको थुप्रो छ ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट नमस्कार तलैसम्म नदी किनारमा फोहरमैला छ । बढ्दो सहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण बढेको छ । पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म ,क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो रहेको बताइएको छ ।

“तटबन्ध निर्माणका क्रममा हामीले केही व्यक्तिलाई तटबन्धभित्रै सेफ्टीट्याङ्की बनाउन भनेका छौँ”, महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामीले भन्नुभयो, “तर अझै पूर्णरूपमा सरसफाइमा ध्यान गएको छैन । मदिराका बोतल, फोहरजन्य वस्तु जथाभावी फालिएका अहिले पनि देखिन्छन् ।

सञ्चारकर्मी शङ्करसिंह धामीले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका “सनतान धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि तन, मन, बचन र कर्मले सकारात्मक योगदानको प्रण गर्दछु, यसमन लागि निस्वार्थरूपमा क्रियाशील भइरहने र यो पुण्यकार्यमा सहभागिता बढाउन सिर्जनात्मक रूपमा सक्रिय भइरहने सङ्कल्प गर्दछु ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्