सभाहल सञ्चालनको मोडालिटी बनाउन मन्त्री झाँक्रीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गरेका छन् ।

सहरी विकास मन्त्रालयको सरकारी भवन निर्माण कार्यक्रमअन्तर्गत सुर्खेत सभाहल पहिलो चरणको आज वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्दै उनले सञ्चालनको मोडालिटी बनाई हललाई आम्दानीको स्रोतका रुपमा विकास गर्न आग्रह गरे ।

मन्त्री झाँक्रीले नेपाल सरकार र दातृ निकायले निर्माण गरेका ठूला संरचनाको सञ्चालन र मर्मतसम्भारको मोडालिटी नहुँदा खण्डहर हुने समस्या रहेको बताए । । “नगरपालिकाले तत्काल हल सञ्चालनको मोडालिटी बनाउनुपर्छ, यो विजनेस सिर्जना गर्न बनाइएको हल हो”, उनले भने , “यसबाट प्राप्त हुने आम्दानीले मर्मतसम्भार, कर्मचारीलाई पारिश्रमिक दिन सकियोस् अब यो लावारिसे हुनुहुँदैन ।” सहरी विकास विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले कार्यान्वयनमा ल्याएको सभाहल निर्माण योजना आर्थिक वर्ष २०७३-७४ देखि सुरु भएको थियो । समानान्तर-चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा सभाहलको निर्माण कार्य पूरा गरेको हो ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास विभागका महानिर्देशक पदमकुमार मैनालीको उपस्थितिमा मन्त्री झाँक्रीले सभाहल व्यवस्थापनको जिम्मा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरे । कार्यक्रममा नगर प्रमुख सुवेदीले सभाहलको दोस्रो चरणसँग सम्बन्धित निर्माण कार्यका लागि यथाशीघ्र ठेक्का प्रक्रिया थाल्न अनुरोध गरे ।

दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैँचा, चमेनागृह निर्माणलगायत काम छन् । यसका लागि रु छ करोड लागतको अनुमान गरिएको छ । हाल बजेट अभाव भएका कारण दोस्रो चरणको काम सुरु हुन सकेको छैन । ‘सुर्खेत सभाहल’कर्णाली प्रदेशकै गरिमा भएको भन्दै नगर प्रमुख सुवेदीले यसको सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउने प्रतिबद्धता जनाए ।

सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख अमरबहादुर थापाले अपाङ्गतामैत्री साना ठूला गरी तीन वटा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल, पार्किङस्थल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य सम्पन्न भएको जानकारी दिए ।

यहाँ ८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ । वीरेन्द्रनगर– ६ मा अवस्थित सुर्खेत सभाहल साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । सभाहल हस्तान्तरण कार्यक्रमका लागि सुर्खेत आउनुभएकी मन्त्री झाँक्रीले सहरी विकास मन्त्रालयद्वारा सञ्चालित आयोजनाको अनुगमन गरेका थिए । त्यस्तै वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा नेकपा एकीकृत समाजवादी का नेता÷कार्यकर्तासँग भेटघाट पनि गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्