पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी पोष्ट स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो ।

बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले उक्त स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयोे । दुवैतर्फका राजमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी पोष्टले ठूलो भूमिका खेल्ने बुढाथोकीले बताए ।

अस्थायी प्रहरी पोष्टको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुभारम्भ गरेका छन् । । उनले यो पोष्टबाट चौबीसै घण्टा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गरे । प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रशासन शाखाको यही माघ ५ गते र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्यशाखाको माघ ६ गतेको पत्रको आदेशानुसार अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

कुश्मा–१ का कार्यवाहक वडाध्यक्ष वीरेन्द्र रिजालले लामो समयदेखि माग गर्दै आएको प्रहरी पोष्टको माग पूरा भएको बताए । उनले दुई जिल्लाको सिमानामा हुने गैरकानुनी क्रियाकलाप र राजमार्गको सुरक्षाका लागि यसको ठूलो महत्व रहेको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्