कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्व र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवलगायतले कालीगण्डकी नदीमा बिहीबार माछाका भुरा छाड्एका हुन् । मधेश प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका माछाका भुरा कालीगण्डकी नदीमा पुगेर छाडिएको वरिष्ठ मत्स्य विकास अधिकृत यादवले बताए । कार्यालयले यसअघि मकवानपुरको सामरी नदीमा पनि ३४ हजार तथा नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिसकेको यादवले बताए ।

त्यस्तै प्रदेश नं १ को कोसी नदीमा पनि ४० हजार माछाको भुरा छाड्ने योजना रहेको यादवले बताए । “खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढ्दै गएको छ”, कार्यालय प्रमुख यादवले भने , “यी जलचरको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि कार्यालयले प्राकृतिक नदीमा लगेर माछाका भुरा छाड्दै आएको छ ।” माछाका भुरा नदीमा छाडेसँगै कार्यालयले गैँडाकोट–३ स्थित ढोँडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको कार्यक्षेत्र सम्पूर्ण नेपाल रहेको भन्दै यादवले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवद्र्धन गर्न माछा भुरा छाँडिदै आएको बताए । नेपालमा स्थानीय प्रजातिका २१७ प्रकारका माछा रहेको जनाउँदै यादवले नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए । नेपालको प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको उनकोे भनाइ छ । –rss

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्