करोडौँको सुन चोरीमा संलग्न तीन भारतीय नागरिक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । बुटवलमा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । १३ वैशाखमा बुटवलमा भएको सुन चोरीको घटनामा संलग्न आरोपमा प्रहरीले भारतको लखनउ बस्ने ३५ वर्षीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र २२ वर्षीय मोहम्मद सरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका हनुसार पक्राउ परेकामध्ये मोहद जिशान खान मुख्य अभियुक्त रहेका छन् । उनी चोरी भएको पसलकै छेउको कोठामा मासिक ३० हजार तिर्ने गरी भाडामा बसेको अनुसन्धानबाट खुलेको छ । पसलछेउमै भाडामा बसेकाले वैशाख १२ गते राति ग्यास कटरले तिजोरी काटेर तीन करोड ५० लाखबराबरको सुन चोरी गरेको रेग्मीले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुबारीस्थित खुनगाई–कालीदह सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडी युपी ३२ एलडब्लू ३१५१ सहित अभियुक्तहरूलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेहरूबाट मोबाइल, भारतीय रुपैयाँ, एटिएम कार्डलगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका– ६, बिपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा वैशाख १३ गते तीन करोड पचास लाखभन्दा बढीको सुन तथा गरगहना चोरी भएको प्रहरीले जनाएको छ । तर, पसल सञ्चालकले भने करिब पाँच करोडबराबरको सुन चोरी भएको दाबी गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्