वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्याङ्जाको भिरकोट नगरपालिका-८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आएको हो ।

वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आएको वडाध्यक्ष नन्दलाल खनालले जानकारी दिएका छन् । साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनले बताएका छन् ।

उनले भने, ‘हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौँ । आइतबारदेखि मंगलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएका छौँ ।’ वडाध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको पहिलो तीन दिन ढापुक जामुनेडाँडामा जाने र पछिल्लो तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गई सेवा प्रवाह गर्दै आइरहेको छ ।

यस्तै, सुरुका दिनमा केही अन्योलतामा भए पनि अहिले भने सेवाग्राहीलाई पूर्ण जानकारी भइसकेको वडाध्यक्ष खनालले जनाएका छन् । उनले भने, ‘नभइ नहुने अत्यावश्यक सेवा, सिफारिस लगायतका कामका लागि दुईमध्ये जुनसुकै कार्यालयबाट लिन पाइयो ।’ वडा कार्यालयले दुई ठाउँमै भवन निर्माण गरी कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेको छ ।

दुई ठाउँबाट सेवा पाउने भएपछि लामो समय खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । उक्त वडामा हाल ४ हजार ७ सय नागरिक बस्दै आएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्